• बिहीबार-१२-१५-२०८०/ 28-Thursday-2024
  • 02:37:34

पर्यटन प्रवर्धन पहिलो प्राथामिकता : सुरेश अधिकारी

 

सल्यान जिल्लाकै पहिलो नगरपालिका शारदा नगरपालिकाले पर्यटन प्रवर्धनका क्षेत्रमा राम्रो कामको सुरुआत गरेको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई विकास गर्न नगरपालिका गुरु योजनासहित अघि बढिरहेको छ । जिल्लाको जेठो नगरपालिका भएका कारण पनि यस नगरपालिकाले राम्रा र उत्कृष्ट कामको थालनी गरेको जनाएको छ । नगरपालिकाले पर्यटनको क्षेत्रमा विगतमा गरेका काम र आउने दिनमा बनाएको योजनाका बारेमा नगरपालिकाका मेयर सुरेश अधिकारीसँग रेडियो राप्तीकर्मी मीना बुढाथोकीले गरेको कुराकानी

सम्पादक

शारदा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि के के काम गरिरहेको छ ?

यस नगरको पर्यटन प्रवर्धनका लागि सबैभन्दा पहिले गुरुयोजना निर्माण गर्ने चरणमा हामी एकदमै अन्त्यतिर छौँ । नगर क्षेत्र भित्रको पर्यटनसम्बन्धी एउटा खाका तयार नगरी अघि बढ्न निकै गाह्रो र चुनौतीपूर्ण छ । त्यसैले पर्यटन प्रवर्धनका लागि यस नगरको हालै सम्पन्न दोस्रो नगरसभाले ‘हिल सिटी’ निर्माणजस्ता योजना स्वीकृत गरेको छ । अहिले त्ससै योजनालाई कार्यान्वयमा लैजाने प्रयास यस नगरपालिकाले गरिरहेको छ ।

नगरपालिकाभित्र पर्यटकलाई आकर्षण गर्नेे के के कुरा छन् ?

योजना बनाएर बजेटले भ्याएसम्म यस नगरलाई ‘पहाडकी सुन्दरी’ बनाउन सकिने सम्भावना छ । धार्मिक तथा ऐतिहासिक सम्पदाको रूपमा रहेको खैराबाङ भगवती मन्दिर, विश्वकै चर्चित माल्नेटाको रेसाविहीन र अदुवा खेतीको प्रवद्र्धनका र विकास, शिव मन्दिर शीतलपाटी, नेवार समुदायको गाईजात्रा, यस क्षेत्रको हावापानी, वनजंगल आदि कुराहरू, सीतापाइला पार्क, हिम दर्शन पार्क रानीकोट र सबै क्षेत्रलाई जोड्ने ट्रान्जिट प्वाइन्टमा रहेको नगरको अवस्थित पर्यटन प्रवद्र्धनका आधारहरू यहाँको पर्यटकलाई आकर्षण गर्ने कुराहरू हुन् । यसका साथै जिल्ला सदरमुकाममा अवस्थित नगरपालिका भएको र यहाँका मुख्य होटेल तथा रेस्टुराँहरू पनि यही नगरमा भएकोले अन्य स्थानीय तहमा पुग्ने पर्यटकहरू पनि हाम्रा पाहुना हुन् ।

यस नगरमा बाइसे चौबीसे राज्यअन्तर्गत सल्यान र माल्टा राज्यका राजधानीहरू पर्छन् । त्यसको बारेमा खोजबिन गर्नेतर्फ नगरपालिकाको ध्यान नपुगेको हो ?

यस बारेमा नगरपालिकाको ध्यानै नपुगेको त होइन, तर मैले भने नि छिट्टै निर्माण चरणमा रहेको योजनामा हामी सबै कुराको खाका बनाउँछौँ । यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र विकासका लागि हामीले सक्दो पहल गर्नेछौँ । त्यसका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा पनि हामीले गरेका छौँ । किनभने हाम्रो हैसियतले मात्रै सबै काम गर्न सकिँदैन । हामीले यस्ता ऐतिहासिक सम्पदाको जगेर्ना गर्नका लागि सबैसँग हातेमालो गर्नेछौँ ।

अन्य स्थानीय तहमा जाने पर्यटकसमेत यही नगरपालिका भएर जाने हुँदा त्यसको व्यवस्थापनका लागि के योजना बनाउनुभएको छ ?

शारदा नगरपालिका भौगोलिक र ऐतिहासिक रूपमा नै सल्यान जिल्लाकै मुटु हो । त्यसैले यस क्षेत्रको विकासले अन्य स्थानीय निकायको विकासमा प्रभाव पार्छ । हामीले मूूल रूपमा शिक्षा स्वास्थ्य, सडक विद्युतीकरण, खानेपानी र सरसफाइलाई विशेष गरी अघि बढाएका छौँ । हाम्रो पहिलो नगरसभाको उद्देश्य नै माथि उल्लिखित कुरा थिए । त्यसअन्तर्गत नगरभित्रका १५ वटै वडालाई हामीले सडक सञ्जालसँग जोडिसकेका छौँ ।

त्यसको स्तरीकरण हुन मात्र बाँकी छ । यस्तै सल्यान अस्पताललाई १५ बाट ५० श्यया पु¥याउन भौतिक संरचना निर्माण र जनशक्ति व्यवस्थापनको काम पनि करिबकरिब सम्पन्न भइसकेको छ । यस्तै दूरदराजका वडाहरूमा सहरी क्लिनिक स्थापना गरिसकेका छौँ ।

नगरभित्रका ५७ वटै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा जुटेका छौँ । जसका लागि विद्यालय, चर्पी निर्माणदेखि सबै विद्यालयका कक्षा १ का विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, पोसाक र कम्प्युटर हस्तान्तरण गरेका छौँ । खानेपानी अभावलाई कम गर्न लिफ्ट सिस्टमबाट योजनाहरूको निर्माण र सरसफाइका कार्यक्रमहरू चलिरहेका छन् ।

समग्र नगरवासीलाई विद्युतीकरण गर्न छिट्टै टेन्डर आह्वान गर्ने प्रक्रियामा छौँ । यस्तै साथै पर्यटन प्रवद्र्धन र विकास गर्न भनेर जिल्लाको धार्मिक पर्यटनको क्षेत्र खैराबाङलाई पक्की मोटरबाटोले जोड्न भनेर श्रीनगर, खैराबाङ, हिवल्चा, मार्के, खलंगा हुँदै बरलासम्म जोड्न सहरी विकास मन्त्रालयको सहयोगमा प्राप्त ४० करोड रुपैयाँ विनियोजन गरेका छौँ भने श्रीनगर बसपार्क र बजार क्षेत्रको व्यवस्थापन गर्न पनि ४० करोड रुपैयाँ छुट्याएका छौँ । होटेल व्यवसायीहरूलाई पर्यटक मैत्री बनाउन र विभिन्न प्रकारका स्वादिष्ट खाना पकाउने तालिमसमेत दिइसकेका छौँ ।

यी सबै कामका लागि आर्थिक स्रोतको व्यवस्थापन कसरी हुन्छ ? त्यसका लागि कस्तो योजना बनाउनुभएको छ ?

यसका लागि खास गरी संघ र प्रदेश सरकारले दिने गरेको अनुदानमै भर पर्नुपर्ने अवस्था छ । त्यसबाहेक अन्य संघसंस्था र निजी क्षेत्रको सहयोग लिइरहेका छौँ र लिने प्रयास पनि गरिरहेका छौँ । मजबुत, आन्तरिक स्रोत नहुँदा समस्या त अवश्य पनि छ । तर, आर्थिक स्रोत संकलन गर्ने दायरा फराकिलो बनाउने प्रयास भइरहेको छ । पर्यटनको विकासका लागि यो बाहेकका अन्य विकल्पको खोजीमा हामी लागिरहेका छौँ । हेरौँ कहाँसम्म सफल भइन्छ ।

नगरभित्र रहेका विविध प्रकारका सम्पदाको प्रर्याप्त रूपमा प्रचारप्रसार हुन नसकेको छैन यसमा के योजना बनाउनुभएको छ ?

तपाईंले उठाएको यो कुरामा म एकदमै सहमत छु । हो यो कुरा सत्य हो कि यस नगरभित्र मात्रै होइन जिल्लाकै पर्यटन प्रवद्र्धनको प्रर्याप्त रूपमा प्रचारप्रसार हुन सकेको छैन । हामीसँग सम्पदाको खानी छ । यसलाई सदुपयोग गर्न सक्ने हो भने यहाँको विकास निर्माणका लागि हामीले कसैको मुख ताक्नुपर्ने अवस्था रहँदैन । हामीसँग सिमेन्ट उद्योगका लागि प्रर्याप्त सम्भावना बोकेको चुनढुंगा पाइने (शारदा नगरपालिका–६, ७, १४) क्षेत्र पनि छ ।

जसको दोहनका लागि नगरपालिका एक्लैले केही गर्न सक्ने अवस्थामा छैन । यस्तै शारदा नदी पनि हाम्रै नगरभित्रबाट बगेको छ । बृहत्तर योजना र लगानी गर्न सकिने हो भने त्यसबाट जलविद्युत् उत्पादन गर्न सकिनेछ । यसले पनि यहाँको विकासमा भूमिका खेल्नेछ । यहाँ रहेका वन जंगल हाम्रो आर्थिक आधारको मजबुत कडी बन्न सक्छ ।

खोटो संकलन, जडिबुटी उत्पादन र बिक्रीबाट मनग्य आम्दानी गर्न सकिने प्रसस्त सम्भावनाहरू छन् । हामीसँग पर्यटकलाई लोभ्याउने पर्यटकीयस्थल कुपिण्डे ताल पनि छ । जो हाम्रो नगरमा नपरे पनि पर्यटकहरू भने यस नगर प्रवेश गरेर ओहोरदोहोर गर्छन् । त्यसबाट पनि आर्थिक उपार्जन गर्न आधार तयार गर्न सकिने भएकाले हामी त्यतातिर पनि योजना बनाएर अघि बढ्ने तैयारीमा छौँ । तर, यी सबै कुराका हामीले धेरै प्रचार प्रसार गर्न सकेका छैनाँै । आउने दिनमा यसमा पनि हाम्रो ध्यान जानेछ ।

 

प्रतिकृया दिनुहोस

'विकासका पूर्वाधारहरू खडा गरेका छौँ' -अध्यक्ष केसी

कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको दार्मा गाउँपालिका प्राकृतिक हिसाबले निकै रमणीय गाउँपालिका हो । प्राकृतिक रूपमा भरिपूर्ण यो गाउँपालिका

'निर्माण व्यवसायीको हकहितका लागी विद्यमान नितीगत व्यवस्थामा परिवर्तन हुनुपर्छ'

सल्यान ३०, असोज । डिल्ली के.सी. नेपाल निर्माण ब्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव हुन् । सल्यान शारदा नगरपालिका १ श्रीनगर घर भएका केसी २०६४ मा

कसरी लेख्ने गद्य शैलीमा कविता

सल्यान ४, असोज । कविता एउटा भाव विचार प्रदान गर्ने एउटा कलात्मक माध्यम हो । कविता समाजले दिन्छ । समाजको चरित्र, परिभाषा, परिधिले कविता लेख्न